News Griha :: न्यूजगृह
धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा गम्भीर छलफल

काठमाडौं— देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई शुक्रबार गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् ।

गृहमन्त्री श्रेष्ठले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने बताए ।

मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको त्यस पहलले समुदायमा सचेतना फैलिने विश्वास उनले व्यक्त गरे  ।

उपस्थित हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल पनि जारी गरेका छन् ।

गृहमन्त्री श्रेष्ठसँगको छलफल लगत्तै जारी अपिलमा भनिएको छ,‘कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि जानअन्जानमा सहभागी नहुन र धार्मिक, सामाजिक एवम् सांस्कृतिक सद्धभाव प्रबर्द्धन गर्न क्रियाशिल रहन सबैमा आह्वान गर्दछौं ।’

अपिलमा विश्व हिन्दु महासंघ राष्ट्रिय समिति, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति संगठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, नेपाल परम्परागत बौद्ध धर्म संघ, अखिल नेपाल भिक्षु महासंघ, इस्लामी संघ नेपाल, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ र नेपाल वाइबल सोसाइटीका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:३१
Weather Update