
काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाल शिक्षक महासंघको आयोजनामा जारी शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।
‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
शिक्षक आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठन—पाठनमा बाधा परेको छ । लोसपाले यथाशीघ्र पठन—पाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ ।
लोसपाले विज्ञप्तिमा भनेको छ, ‘विद्यार्थीको अध्ययन/अध्यापन पूर्णतः लामो समयसम्म ठप्प हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन–पाठन सुचारु गर्न आवश्यक रहेको छ ।’













