News Griha :: न्यूजगृह
संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसदीय समितिले संविधानले स्वीकार गरेका विषयमा टेकेर राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिको मस्यौदामाथि छलफलमा भाग लिँदै उनले सरकार र विपक्षमा को छ भन्नेभन्दा पनि संविधानले स्वीकार गरेको र निर्देश गरेका कुराहरूमा टेकेर राष्ट्रिय हितको दिशानिर्देशित गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हाम्रो संविधानले स्वीकार एवम् निर्देश गरेका कुराहरूमा टेकेर समितिले अहिले कसको सरकार छ, को विपक्षमा छ भन्नेभन्दा पनि,राष्ट्रिय हित के हो भन्नेतर्फ समितिको ध्यान जानुपर्छ ।’

नेता पुनले अहिलेको कार्यकारीमा अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्झौता गर्न हतार गर्ने समस्या रहेका कारण चाहेअनुसार ऐन कानुनलाई परिमार्जन गर्न नसकेको टिप्पणी गरे ।

उनले भने,‘कार्यकारीको समस्या अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्झौता गर्न हतार गर्ने कुनै विषयमा प्रतिनिधि सभामा र राष्ट्रिय सभामा छलफल गर्नेभन्दा पनि मन्त्री, सचिव सम्झौता गर्न जाने गर्दा त्योअनुसार ऐन कानुनलाई परिमार्जन गर्न नसकिएको हो ।’

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:४९
Weather Update