News Griha :: न्यूजगृह
सर्लाहीको मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु

सर्लाही— सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि कर्फ्यु जारी गरेका हुन् ।

अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क)(१०(३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ, प्रजिअ यादवले बताए । 

बिहीबार साँझ भएको झडपमा ६ घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

कर्फ्यु अवधिमा पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र कसैले आवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न पाइने छैन ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिनेसमेत प्रजिअ यादवले बताए । 

डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररूप लिएपछि मलङ्गवामा कर्फ्यु लगाइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०६:२९
Weather Update