
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ ।
बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगन थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
यस्तै बैठकमा उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासङ्घसँग भएका संवाद बारे जानकारी गराएका थिए । उनले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न सरकार तयार रहेको बैठकमा बताएको पौडेलले जानकारी दिए ।
आज बैठकमा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले आआफ्नो धारणा राखे । यस्तै आमन्त्रित प्रदेश सभापति उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र वीरबहादुर बलायरले पनि आआफ्नो धारणा राखेको पौडेलले बताए ।