
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूले विद्यालय बन्द गरेर पढ्न पाउने विद्यार्थीको अधिकार कुण्ठित गरेको जनाएको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरू विद्यालय नै बन्द गरेर सडकमा उत्रिएपछि रास्वपाले सो कुरा बताएको हो ।
रास्वपाका महामन्त्री मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘हालै संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौंमा थालेको आन्दोलनप्रति हामी संवेदनशील रहेको सम्बन्धित सबै सरोकारवालालाई अवगत गराउन चाहन्छौं । शिक्षकहरुले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने हाम्रो नीति रहेको छ । शिक्षकहरुको पेसागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले यो संवेदनशील ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको जनाएको छ । सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने रास्वपाले बताएको छ ।
रास्वपाले विज्ञप्तिमा भनेको छ,‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नु पर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो । शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’
शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेसालाई सरकारबाट कहिलै उचित व्यवहार नभएको बताउँदै रास्वपाले समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्यौलमा राखिंदै आएको बताएको छ ।
रास्वपाले शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्ने पार्टी स्थापनाकालदेखि नै पटक—पटक भन्दै आएको छ ।













