
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहालको चीन भ्रमण हुन लागेको हो ।
२३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री माननीय नारायण प्रकाश साउद (एनपी), खानेपानी मन्त्री महिद्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन भ्रमणका क्रममः प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जीनपीङ, प्रधानमन्त्री ली छ्याङ, नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।