
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् । उनले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् ।
शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले देशभरका विद्यालय बन्द गरेर बुधबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेपछि सांसद थापाले बिहीबार सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।
उनले भने,‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ ।’
महामन्त्री थापाले आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताउँदै सांसदको भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षलाई आग्रह गरेका छन् ।














