News Griha :: न्यूजगृह
काभ्रेको मण्डनदेउपुरमा भोलि ‘थकाइ’ बिदा 

काठमाडौं— काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरूलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालय सार्ने क्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए । आज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २०:३९
Weather Update