News Griha :: न्यूजगृह
उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

कञ्चनपुर—बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

मंगलबार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बाबुराम चौधरीको उपचारको क्रममा अहेव नरेन्द्रप्रसाद गैरेमाथि चौधरीका आफन्तले हातपात गरेका हुन् । घाइतेका आफन्त बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्काले गैरेमाथि गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहोराका अनुसार चार दिनदेखि लगातार सार्वजनिक बिदा हुँदा उपचार सामग्रीको अभाव भएको थियो । घाइतेको घाउमा टाँका लगाउनुपर्ने बेला धागो सकिएको पनि उनले बताए । ‘स्वास्थ्यकर्मीले नै पैसा दिन्छु अर्को धागो ल्याइदिनुस् भन्दा सिधै घाँटीमा समाते,’ बोहोराले भने, ‘गाली गलौज पनि गरे ।’ 

बोहोराका अनुसार पीडित स्वास्थ्यकर्मीले खड्काविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । खड्काले यसअघि पनि स्वास्थ्यकर्मीलाई बेला बेलामा स्वास्थ्य संस्थामै आएर हातपात गर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले हातपात गर्ने खड्कालाई नियन्त्रणमा लिइएको बताए ।  

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २०:३३
Weather Update