
काभ्रे— सुनका गरगहना लुटपाट गरेको अभियोगमा २ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेमाल गाउँपालिका-२ सर्स्यौंखर्कका २७ वर्षीय आकाश दोङ र खानीखोला गाउँपालिका-१ फलामेटारका २७ वर्षीया श्रीराम लोप्चन छन् ।
मंगलबार दिउँसो धुलिखेल नगरपालिका-१० की ३६ वर्षीया अनिता थापाको गहना लुटेको आरोप उनीहरुमाथि छ । पनौती नगरपालिका-५ गैरीगाउँबाट घर फर्कने क्रममा उनीहरुले खुकुरी देखाई मार्ने धम्की दिई थापाको गहना लुटेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार उनीहरुले यसअघि भदौ २९ गते पनौती नगरपालिका-८ की ४८ वर्षीया तुलसी बञ्जाराको झुम्का लुटेको खुलेको छ । उनीहरुको साथबाट प्रहरीले तिलहरी १ थान, टप सहितको झुम्का दुई थान, झुम्का अड्याउने सिक्री १ थान र खुकुरी १ थान बरामद गरेको छ ।
आकाश र श्रीरामले गहना लुटेर ओखलढुंगा घर भई पनौती नगरपालिका-४ ठाडोबोटोमा बस्दै आएकी ४५ वर्षीया संगीता तामाङलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । संगीतालाई पनि प्रहरीले पक्राउ गरेको छ ।













