News Griha :: न्यूजगृह
दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन गर्छन् बाँकेका पस्तोके

बाँके— ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ’,बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने,‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।’

उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि साथमै राखेका थिए । पञ्चेबाजाअन्तर्गत पर्ने दमाहा, ट्याम्का र मादल बनाउन उनले सानैदेखि सिकेको पेसा हो ।

‘बुबा सानैमा बित्नुभयो । उहाँ बितेपछि काका र दाईले यो सीप मलाई सिकाउनुभएको हो’,उनले भने,‘विद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ ।’

साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आएका उनले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए ।

‘मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्का र मादल बनाउछों । पहिला गाईगोरु पनि धेरै हुन्थे र धेरै मर्थे पनि । हिजोआज गाईगोरु पाल्न छाडेका छन् । त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ’,उनले भने ।

पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेको र नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उनको भनाइ छ । ‘गोरुको छाला पाउन गाह्रो भएपछि राँगाको छाला प्रयोग गर्न थालेका छौँ’,उनले भने,‘एउटा राँगाको छालालाई दुई हजारदेखि दुई हजार पाँचसम्म पर्छ ।’

एउटा दमाहा बिक्रीबाट उनले पाँच हजार आम्दानी गर्छन् भने ट्याम्का बनाएको दुई हजार लिन्छन् । यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उनको भनाइ छ । दमाहाको मूल्य आकारअनुसार पाँच हजारदेखि १५ हजारसम्म पर्ने उनको बताए ।

पस्तोके बादीका घरमा दमाहा, ट्याम्का र मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरु आइपुग्छन् । विशेषगरी चाडवाड नजिकिँदै गर्दा यस्ता सामान बनाउन आउनेको सङ्ख्या बढी हुने उनको भनाइ छ ।

जाजारकोटको शिवालय गाउँपालिका–६ थालारैकरबाट बसाइँसराइ गरी बाँके झरेका पस्तोकेले दमाहा बनाएरै आफ्नो सात जनाको परिवार पाल्दै आएका छन् । पर्वको अवसर पारेर मात्रै यस्ता बाजा बनाउन आउने भएकाले घरखर्च धान्न र परिवार पाल्न कठिन हुँदै गएको पस्तोको भनाइ छ ।

बाह्रैमास कमाइ नहुने भएकाले अहिलेका बादी पुस्ताले यो पेसालाई अगाल्न नचाहेको उनको अनुभव छ । ‘यो यस्तो सीप हो जस्को प्रयोग पर्व छ महिना वा वर्ष दिनमा मात्रै गर्न पाइने भएकाले छोराहरु यो पेसा गर्न चाँहदैनन् । हाम्रो शेषपछि यो पेसा धरापमा पर्छ भन्ने ठूलो चिन्ता छ मलाई,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:५०
Weather Update