
स्याङ्जा— स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गंगाप्रसाद श्रेष्ठले व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन् । उनले चार वर्ष पहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन् ।
उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् । उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस पालेका छन् भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन् ।
करिव रोपनी क्षेत्र फलमा फैलिएको उनले फार्ममा हालसम्म ७० लाख लगानी गरिसकेको र चार वर्षको अवधिमा ८२ लाख आम्दानी गरेको दाबी गरे ।
नेपाल बाख्रापालन महासङ्घ स्याङ्जाका अध्यक्षसमेत रहेका श्रेष्ठले गल्याङ नगरपालिकालाई मासुुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित श्रीमती अनिता श्रेष्ठको नाममा फार्म दर्ता गरेर व्यवसाय दर्ता गरेको बताए ।
उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरुका लागि उदाहरण बन्न सकिन्छ कि भनेर बाख्रापालन गरेको दाबी गरे ।
‘व्यावसाय सञ्चालनको सुरुमा खासै ज्ञान नभएर होला गाह्रो महसुस भएको थियो, सुरुआती अवस्थामा निमोनियाले ४४ वटा बाख्रा मरे,’ उनले भने, ‘अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ, पालेका सबै बाख्रा पोषिला छन् ।’
श्रेष्ठले एक जना साथी सँगको सहकार्यमा २८ बाख्राबाट व्यवसाय सुरु गरेको बताए ।