
काठमाडौं— कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
संविधान दिवस, २०८० का अवसरमा शुभकामना दिँदै उनले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधान सभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गरेका छन् । 'यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो,' कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उनले संविधानमा प्रतिबिम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
'सरकार यो संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ । यस अवसरमा संविधानले प्रत्याभूति गरेका साझा मौलिक हकाधिकारको पूर्ण उपभोग गर्दै तथा संविधानले व्यवस्था गरेका नागरिकको दायित्व र कर्तव्यप्रति पूर्ण सजग रहँदै मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु,' कार्यवाहक प्रधानमन्त्री खड्काले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।