
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतारिन नहुने बताएका छन् ।
संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन् ।
हतारमा भन्दा केही समय लिएर एकैचोटी संशोधन गर्नु राम्रो हुने भन्दै उनले गम्भीर रुपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरुबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरु देखिइरहेका छन् । तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाहीँ बिर्सन हुँदैन । त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’
दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ ।