शिक्षा विधेयकमा असहमति
शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघ नजाने भएको छ ।
संसदमा दर्ता भएको शिक्षा विधेयक २०८० ले आम शिक्षक तथा कर्मचारीलाई सम्बोधन नगरेको भन्दै महासंघले बुधबार देशभरका विद्यालय बन्द गरी आन्दोलन गर्दैछ । सोही विषयमा शिक्षा मन्त्रालयले वार्ता गर्न खोज्दा महासंघले वार्तामा नबस्ने बताएको हो ।
शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले न्यूजगृहसँग भने, ‘आज दिउँसो ३ बजे शिक्षा मन्त्रालयले बोलाएको वार्तामा हामी जाँदैनौं । भोलिदेखि सुरु हुने हाम्रो आन्दोलनका कार्यक्रम स्थगित हुँदैनन् । हाम्रा माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ सुवेदीले कर्मकाण्डी वार्ताबाट कुनै निकास ननिस्कने बताए ।
मन्त्रालयले भने शिक्षक महासंघको मागहरू पूरा गर्न तयार रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० ११:४१













