News Griha :: न्यूजगृह
शेखर समूहको बैठक आज, गुट बाहिरका शर्मा र पौडेललाई पनि बोलाइयो

काठमाडौं—  नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बस्दै छ ।

बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।

 नेता कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई समेत बैठकमा बोलाएका हुन् । स्रोतका अनुसार बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

१४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका हुन् भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका हुन् । तर गत पुसमा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेलले गगन थापा पक्षमा खुलेका थिए। थापा भने कोइराला प्यानलबाट महामन्त्री जितेका हुन् । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०६:५१
Weather Update