News Griha :: न्यूजगृह
डेँगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान

वीरगन्ज— बढ्दो डेँगु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु गरेको छ । पछिल्लो समय वीरगन्ज महानगर क्षेत्रमा डेँगु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेँगु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । 

अभियानका क्रममा महानगरपालिकाले डेँगु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगन्ज भित्रिने यात्रुवाहक बसदेखि अन्य सवारी साधनमा स्प्रे गर्न थालेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँले जानकारी दिए । 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न अहिलेसम्म एक सय २० भन्दा बढी सवारी साधन र पानी जमेको स्थानमा स्प्रे गरिएको उनले बताए । उनका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखा र नगर प्रहरीको टोलीसमेत स्प्रे गर्न परिचालन गरिएको छ ।

यात्रुवाहक बसका साथै वीरगन्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नरसिंह माविसम्म रहेका टायर पसलमा राखिएका पाँच सय ६३ वटा टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको प्रमुख मियाँले जानकारी दिए । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि कीटनाशक औषधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २०:५०
nepali_patro_2nepali_patro_2
Weather Update