‘शिक्षा विधेयक सरोकारवालाको सुझावका आधारमा मात्र पारित हुन्छ’

काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावका आधारमा पारित गरिने बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको अन्तर्कियामा उनले सो कुरा बताएका हुन् । संविधानको मर्म र जनताको चाहना विपरीत विधेयक पारित हुन नसक्ने भन्दै उनले दफावार छलफलका क्रममा पर्याप्त गृहकार्य हुने स्पष्ट पारे ।
विधेयकप्रति नेपाल शिक्षक महासंघलगायत संस्थाले विरोधका कार्यक्रम घोषणा गरेका छन् । शिक्षाविद् विमल फुयाँलले विधेयक प्रगतिशील नभएकाले व्यापक परिमार्जन गर्न आवश्यक रहेको टिप्पणी गरे ।
एनसीई नेपाला अध्यक्ष राजेन्द्र पहाडीले आफूहरुले दिएको सुझाव र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को भावनालाई सम्मान नगरी विधेयक आएको बताए ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १६:३६













