News Griha :: न्यूजगृह
स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

काठमाडौं— पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तीज) पर्व व्यवस्थित भएको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् ।

विगत वर्षमा सयौँको सङ्ख्यामा ज्याकेट एवम् परिचय पत्र बोकेका स्वयंसेवकले नै दर्शनार्थीलाई मन्दिर प्रवेशमा असहज वातावरण बनाएको सूचना पाएपछि कोषले यो वर्ष व्यवस्थित गरेको हो ।

विगत वर्षमा स्वयंसेवकले नै लाम बाहिरका मानिसलाई अनियमित रुपमा लामको बीचबाट प्रवेश गराएको सूचना पाएपछि उनलाई बाहिर निकालिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

विगत वर्षमा पशुपतिनाथ मन्दिरको मूल मन्दिर परिसर बाहिर विभिन्न सङ्घसंस्थाको ज्याकेट र परिचय पत्र लगाएर स्वयंसेवा गर्नेकै भीड लाग्थ्यो ।

कोषले स्वयंसेवक परिचालनका लागि ज्याकेटको व्यवस्था नगरेपछि पश्चिम ढोकाअघि व्रतालु महिला, सञ्चारमाध्यमका प्रतिनिधि एवम् फोटो पत्रकार सीमित सङ्ख्यामा नेपाल स्काउटका स्वयंसेवक खटिएको देखिन्थ्यो ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायतमा मात्र सीमित सङ्ख्यामा स्वयंसेवकको पास दिइएको थियो ।

साउनको सोमबार, तीज, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नयाँ वर्षको दिन वैशाख १ गतेलगायत पर्वमा पशुपति क्षेत्रमा खटिने भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने गरिएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:०९
Weather Update