News Griha :: न्यूजगृह
एसईई उत्तीर्ण विद्यार्थीलाई बाल विकासको सम्मान

काठमाडौं—  बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख शुभलक्ष्मी शाक्य सुनिताको प्रमुख अतिथ्यतामा शैक्षिक वर्ष २०७९ को एसईईमा सफल भएका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिले सम्मानित विद्यार्थीलाई शुभकामना दिँदै आगामी शैक्षिक यात्रा नियमित रूपमा अगाडि लैजान आग्रह गरिन् ।

संस्थाले कार्यसमिति पदाधिकारी आजीवन सदस्य, शुभचिन्तक सिटिजन्स बैंकबाट आर्थिक सङ्कलन गरी निम्नस्तरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति कार्यक्रममार्फत शैक्षिक सहयोग गरिरहेको रहेको बाल विकास समाजका शिक्षा अधिकृत गोविन्द बि.क.ले जानकारी दिए ।

उनका अनुसार २०६० देखि २०७९ सम्ममा संस्थाको सहयोगमा अध्ययन गर्ने १६४ जना विद्यार्थीहरूले एसईई पास गरिसकेका छन् ।

विद्यार्थीहरूलाई आधारभूत शिक्षाको पहुँच वृद्धि गर्ने उद्देश्यले आफैंबाट आर्थिक सङ्कलन गरी कार्यक्रम सुरू गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री, विद्यालय पोषाक, स्वेटर, जुत्ता संस्थाले उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीहरूको शैक्षिक अधिकार सुनिश्चितका लागि स्थानीय सरकारको समन्वय तथा सहकार्यलाई संस्थाले जोड दिँदै आएको छ ।

साथै संस्थाले अक्षयकोष खडा गरी निम्नस्तरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निरन्तर रूपमा छात्रवृत्ति कार्यक्रममार्फत सहयोग गरिरहने प्रतिबद्धता संस्थाले सम्मान कार्यक्रममा जनाएको छ ।

सोही अवसरमा संस्थाको वार्षिक साधारणसभा र आफ्नो ३३औं साधारणसभा सम्पन्न गरेको छ । गोरखापत्र दैनिकबाट 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:०५
Weather Update