News Griha :: न्यूजगृह
चितवनमा तीन लाख मूल्य बराबरको दुई हजार किलो माछा नष्ट

भरतपुर— चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए ।

‘बिलमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन’,उनले भने,‘भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ ।’ अवैधरूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् ।

लु३च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौंतर्फ लैजान लागिएको थियो । जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले जानकारी दिए । सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए ।

अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजारसम्म रहेको गौतमले जानकारी दिए । तर बिलमा  एक लाख ६० हजारमात्र लेखिएको छ ।

मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताए । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:५७
Weather Update