News Griha :: न्यूजगृह
चक्कु प्रहारबाट साथीको हत्या

पाल्पा— पाल्पामा गएराति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे सुनिलमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो। 

गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा सोमबार बिहान पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुखको टोली घटनास्थलमा पुगेको छ।

स्थानीय महिला नाचिरहेका बेला युवाहरुबीच सामान्य झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक चन्दले बताए।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:२१
Weather Update