
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको शौख रहेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै आफूलाई घोडचडी र पौडीमा खुबै चाख रहेको बताएका हुन्।
‘पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्याएको छ,' राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्विमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथे ।’ आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको उनको भनाई छ ।
बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात शोक न सुर्ता भोक न भकारीको रहने गरेको उनको भनाई छ । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भने ।
त्यसबेला धानको कुनिउँ, बिटा र भकारीमा लुकामारी खेलेको, गाईबस्तु चराउने गरेको, भात पकाई खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको उनले स्मरण गरे ।
'हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कुर्ची बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरे, घरनजिकैको वरपीपलको चौतारीका ढुंगाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धूलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो,' उनले भने ।
राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको समेत बताए ।
बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिए ।













