
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।
आइतबार राष्ट्रपति पौडेलले नेम्वाङ परिवारलाई समवेदना सन्देश पठाउँदै नेपालको राजनीतिक र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्ने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको उल्लेख गरेका छन् ।
समवेदना सन्देशमा लेखिएको छ,‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयनकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधान सभा अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधान सभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।’
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा नेम्वाङसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा ताजै रहने बताएका छन् ।













