News Griha :: न्यूजगृह
अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटियो, ६ जना पक्राउ 

काठमाडौं— अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको छ ।

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगन्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उक्त कार्टुन लिन आउने वीरगन्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

त्यस्तै भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिनभार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट थप ७२० ग्राम गाँजा बरामद भएको ब्युरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा फेला पारेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने ३९ वर्षकी रेनुका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:२२
Weather Update