
चितवन— नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।
आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।
उनले भने,‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।’
सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो ।
विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाइ छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले बताए ।
उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए । ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो’, उनले भने, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।’