
काठमाडौं— नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।
बैठकपछि बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए ।
उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए ।
‘पूर्वमा कोशी प्रदेश नामकरण भयो । हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो । त्यतिखेर अलिकति कमजोरी भएको छ । अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्ने रिजर्भेसन राख्ने कुरा भएको छ,’ महराले भने ।
कोशी नामकरणविरुद्धको आन्दोलनका क्रममा निधन भएकाहरूलाई शहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए ।
महराले पार्टी मिटरब्याज पीडितकै पक्षमा रहेको बताउँदै वार्ता, संवादबाट समस्याको समाधान गर्नुपर्ने निर्णय गरेको बताए ।













