
खोटाङ— गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् ।
रावाबेँसी,दिप्रुङचुइचुम्मा,साकेला,खोटेहाङ गाउँपालिका सहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् ।
धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा ससाना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरूको भनाइ छ ।
गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री,सेथब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिए ।
धानको कलिलो अवस्थाको बोटमा गभारोको आक्रमण भएमा गावा मृत देखिने तथा फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिने जनाइएको छ । धान बालीमा रोग तथा कीराको सङ्क्रमण फैलिएपछि यस वर्ष जिल्लामा उत्पादनमा समेत गिरावट आउने सम्भावना बढेको कृषि विज्ञहरूले बताएका छन् ।
जिल्लाका दश स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा कीराको प्रकोप देखिएको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा समेत रोग तथा कीराको सङ्क्रमण देखापरेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गभारो कीरा, ब्लास्ट, खैरो थोप्ले रोग र व्याक्टेरियललिफब्लाइटको सङ्क्रमण देखिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । 'नगरपालिकाको सबै वडाका किसानले लगाएका धान बालीमा रोग तथा कीराको प्रकोप देखिएको छ । सबैभन्दा बढी वडा नं ४ खाल्लेमा देखिएको छ,' उनले भने, 'धान बालीमा लागेको रोगको प्रकोप तथा कीरा नियन्त्रणका लागि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई कारटापहाइड्रोक्लोराइड,कार्बेनडाजिम र एक्जाकोनाजोल नामको विषादी वितरणसमेत वितरण सुरु गरेको छ ।'
जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा धान बालीमा फैलिएको रोग नियन्त्रणका लागि पहल थालेको बुझिएको छ । यद्यपि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहका कृषकले अहिलेसम्म रोग नियन्त्रणका लागि आवश्यक पर्ने विषादी पाएका छैनन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कुल १२ हजार आठ सय ९८ हेक्टर खेतमा किसानले धानखेती गर्दै आएका छन् । देशभर गाई/गोरुमा महामारीका रूपमा फैलिएको लम्पीस्किन रोगसँगै बेलामा वर्षा नहुनु, यान्त्रिकरणमा सबै किसानको पहुँच नपुग्नु लगायतका कारण यस वर्ष जिल्लामा धान रोपाइँमा समेत ढिलाइ भएको थियो ।













