
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।
आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेविरुद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।
उनी विरुद्ध परेका चार उजुरीमध्ये तिन वटा उजुरीमा दाबी नपुग्ने भन्दै खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए । उनले भने, 'उहाँविरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ । उहाँको उम्मेदवारी कायम भएको छ । अब स्पष्टीकरणबारे निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निर्णय गर्नेछ ।'
लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए ।
गत चैत २० गते चितवन २ मा उम्मेदवारी दर्ता दिएका २४ जनाकै उम्मेदवारी सदर भएको कार्कीले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ । कार्यालयले बिहीबार नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी गरेको छ ।













