News Griha :: न्यूजगृह
ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सिन्धुपाल्चोक— चौतारा साँगाचोकगढीनगरपालिका–९घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पालगाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १७:३८
Weather Update