
भक्तपुर— दुई महिना अघि हराएकी एक महिलाको शव शनिबार फेला छ ।
मध्यपुरथिमि नगरपालिका–४तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएका महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबरका थिए ।
६१ वर्षीय परमेश्वरी दाहालको शव मध्यपुर थिमीको जङ्गलमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले बताए ।
पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । 'उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ', उनले भने ।
मृतककी छोरी जानुकाले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमीमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको डीएसपी पाठकले जानकारी दिए । घटनाका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













