
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
झुटा विवरण पेस गरी दोहोरो पासपोर्ट लिएको विषयमा लामिछानेमाथि छानबिन नै नगर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा बुधबार सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।
युवराज पौडेलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाले उक्त रिटमाथि सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।
गत चैत ५ गते महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए । रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि महान्यायाधिक्ताले उनीमाथि मुद्दा नचलाउने निर्णय लिएका थिए । त्यस विरुद्ध पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
लामिछानेले आगामी १० वैशाख गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन २ मा उम्मेदवार बनेका छन् । उनी यसअघि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर गत माघ १३ गते उनको नागरिकता सम्बन्धी बिवादमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै लामिछानेको सांसद पद खारेज गरेको थियो ।
अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता प्राप्त गर्न पुनः प्रक्रियामा जानुपर्नेमा पुरानै नागरिकता प्रयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको थियो ।













