
काठमाडौं— प्रस्तावित शिक्षा ऐनमा आफूहरूलाई विद्यालय संरचना बाहिर राखिएकोमा प्रारम्भिक बालविकास सजकर्ताहरू (ईसीडी) शिक्षकहरूले आपत्ति जनाएका छन् ।
विधेयकले ईसीडी शिक्षक र त्यसको व्यवस्थापन पालिकाले गर्ने उल्लेख छ । शिक्षकले भने प्राथमिक तृतीयसरहको शिक्षक ईसीडीमा राख्नुपर्ने बताएका छन् ।
शिक्षा विधेयकमा प्रक्रिया पूरा गरेर आएकालाई आर्थिक सुविधासहित बिदा गरिने र उमेर पुगेकालाई स्थायी हुन अवसर दिने उल्लेख छ ।
धादिङकी ईसीडी शिक्षक माया न्यौपानेले ईसीडी शिक्षकहरू वर्षौंदेखि पीडित रहेको बताउँदै ऐनमार्फत विद्यालय संरचनामा राखेर उचित तलबसुविधा दिनुपर्ने बताइन् ।
त्यसैगरी रोल्पाकी ईसीडी शिक्षक दिलकुमारी वलीले सरकारले ईसीडी शिक्षकलाई विभेद गरेर ऐन ल्याउन लागेकोमा आपत्ति जनाइन् ।
उनले भनिन्, ‘हामीलाई धेरै अन्याय भएको छ । विद्यालय शिक्षा विधेयकमा हामीलाई विद्यालय संरचना बाहिर राखेर व्यवहार गरेर सह्य हुँदैन । सरकारले कि ईसीडी शिक्षक नराख्ने भनोस् कि उचित व्यवस्थापन गरोस् ।’
रुकुम पश्चिमकी निर्मला वलीले पनि बाल शिक्षकलाई सरकारले अन्याय गरेको बताइन् । उनले शिक्षा ऐनमार्फत बालविकास शिक्षकका माग समेट्न आग्रह गरिन् । विद्यालय संरचना बाहिर राख्दा ईसीडी शिक्षकलाई न्याय नहुने उनको भनाइ छ ।













