
काठमाडौं— चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी भूमिगत छिन् । उनको आवाजका फ्यान उनलाई हेर्न व्यग्र प्रतीक्षामा छन् ।
भरखरै उनको तीज गीत सार्वजनिक भएको छ 'बलमा' । उक्त गीतले दर्शकको राम्रै 'भ्यूज' पाएको छ । यहीबेला विष्णु माझीको करिब ५ वर्षअघिको फोटो सार्वजनिक भएको छ ।
विष्णु माझीको गुमनाम जीवनबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि श्रीमान् सुन्दरमणि अधिकारीसहित उनी २०७५ साल पुस तेस्रो साता स्याङ्जास्थित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । सोही क्रममा खिचिएको तस्बिर अहिले सार्वजनिक भएको छ ।

उक्त तस्बिर कान्तिपुर दैनिकको शुक्रबारको अङ्कमा छापिएको छ ।
माझीका गीतहरू जति चर्चित छन् तर उनी त्यति नै गुमनाम छिन् । ५ वर्षअघि स्याङजा जाँदा विष्णु माझीले पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । जिल्ला प्रशासन र प्रहरी कार्यालय भित्र भने उनले मास्क खोलेकी थिइन र प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा पारिवारिक सदस्यसँग खिचिएको तस्बिर अहिले सार्वजनिक भएको हो ।
मिडियाहरूमा लामो समयदेखि विष्णु माझी गुमनाम भनेर समाचारहरू आएसँगै स्याङ्जाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती स्याङ्जा पुगेको थियो ।

त्यहाँ विष्णु र सुन्दरमणिसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि थिए । उनीहरूबीच झण्डै डेढ घण्टा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा छलफलसमेत भएको थियो ।
सञ्चारमाध्यम तथा आम दर्शक स्रोताले सुन्दरमणिले नै विष्णु माझीलाई बन्धक बनाएको आशङ्काबीच उक्त छलफल भएको थियो । सो क्रममा विष्णु माझीले भनेकी थिइन् – ‘म बन्धक छैन, राजीखुशीले नै गुमनाम छु ।’