News Griha :: न्यूजगृह
बस्नेत र साउदलाई मन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं— नेपाली कांग्रेसले सरकारमा पठाउन बाँकी ४ मन्त्री मध्ये २ जनाको नाम टुंगो लगाएको छ ।

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र एनपी साउदलाई मन्त्री बनाउने निर्णय गरेको हो ।  

साउद कञ्चनपुर– २ र बस्नेत सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।

यसअघि गत १७ चैतमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाललाई पठाइएको थियो ।

स्रोतका अनुसार साउदलाई परराष्ट्र र बस्नेतलाई स्वास्थ्य वा खेलकुदमध्ये एक मन्त्रालय दिइने छ । बाँकी २ मन्त्रालयको भाग संस्थापनइतर समूहको हो । तर इतर समूहले ३ मन्त्रालयमा दाबी गर्दै आएको छ ।  

संस्थापनइतर समूहबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा डिगबहादुर लिम्बु मन्त्री बन्न आकांक्षी छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:०२
Weather Update