News Griha :: न्यूजगृह
सम्पादकसँगको अन्तरक्रियामा माधव नेपालले भने– गठबन्धन ५ वर्ष टिक्छ  

काठमाडौं— सत्ता साझेदार नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् ।

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका हुन् ।

बुधबार पार्टी केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए ।

नेपालले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन । त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं ।’

अध्यक्ष नेपालले गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए  । 


 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:५५
Weather Update