News Griha :: न्यूजगृह
प्रस्तावित शिक्षा ऐन : शिक्षक कर्मचारीलाई नेताहरुले ढाँटे, आन्दोलनको विकल्प छैन : अध्यक्ष तिवारी

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षक कर्मचारीको हकहितका लागि सबै जाग्नुपर्ने बेला आएको बताएका छन्  ।

उनले संसदमा दर्ता भएको संघीय शिक्षा ऐन (शिक्षा विधेयक) मा शिक्षक कर्मचारीका माग सम्बोधन भइसकेको छ अब आन्दोलन गर्नु पर्दैन भनेर प्रधानमन्त्रीदेखि शिक्षासचिवसम्मले भनेको तर त्यो पूरा नभएको बताएका छन् ।

शिक्षा विधेयक सार्वजनिक भइरहेको अवस्थामा विधेयकभित्र शिक्षक कर्मचारीका मागमुद्दा नसमेटिएको तिवारीको भनाइ छ । उनले सरकारको ढाँटछल रबैयाविरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको बताए ।

उनले भने,‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विगत एक महिनादेखिको दौडधुप गरेको थियो । सकेसम्म शिक्षा ऐनलाई लिएर आन्दोलन गर्न नपरोस् भनेर नेताहरुको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षासचिव सुरेश अधिकारीले शिक्षक कर्मचारीका माग पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षक कर्मचारीको हितअनुकूल नै ऐन ल्याउँछौं भन्नुभएको थियो । तर अहिले त्यस्ताे पाइएको छैन । शिक्षामन्त्री त ‘तपाईंहरुको माग लगभग सबै समेटिएका छन्’ भन्नुभएको थियो । अहिले आएर कस्ता हुँदा रहेछन् नेताहरु भन्ने थाहा भएको छ । तसर्थ अब धेरै बिलौना गरेर केही नहुने भयो भनेर नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आन्दोलन घोषणा गरेको छ  । त्यसमा हामीले साथ दिएका छौं  । समग्र शिक्षक कर्मचारीको पूर्ण सेवासुविधा र रोजगारमूलक शिक्षा दिलाउन नेतृत्व कस्तो रहेछ भन्ने कुरा प्रमाणित गर्ने बेला भएकोछ । सबै जुटौं सबै लागौं ।’

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:५३
Weather Update