
सङ्खुवासभा— सङ्खुवासभामा डेँगु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ ।
जिल्लामा डेँगु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।
रेडक्रसले आगामी नोभेम्बरसम्म डेँगुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेँगुको बारेमा जानकारी दिन ‘स्कुल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए ।
यसका साथै रेडक्रसले डेँगु नियन्त्रण तथा रोकथामका लागि स्वयंसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेँगु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो ।
सङ्खुवासभामा साउनयता डेँगु सङ्क्रमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेँगु सङ्क्रमण फैलिएको छ ।
'भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेँगु सङ्क्रमित देखिएका छैनन्,' उनले भने । सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् ।