News Griha :: न्यूजगृह
डाक्टर कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम 

काठमाडौं— नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो ।

७२ घण्टाभित्र डाक्टर कुट्ने माथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघका महासचिव डा. सजीव तिवारीले चेतावनी दिए । 

‘७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा संघले देशभर आकस्मिक सेवा बाहेकका अन्यू सम्पूर्ण सेवा बन्द गरेर आफ्नै ज्यानको सुरक्षामा खटिन बाध्य हुनेछौं’ तिवारीले भने, ‘यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ ।’

बुधबार राति सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारी माथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

गत साउन २२ गते डेँगुको लक्षण लिएर अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई अस्पतालका चिकित्सकले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।

त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका हुन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

हेर्नुहोस् चिकित्सक संघको विज्ञप्ति

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:१४
Weather Update