
काठमाडौं— नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले संविधान सभाका अध्यक्ष एवम् सो पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।
आयोगका अध्यक्ष केशव बडालले जारी गरेको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहेको उल्लेख छ ।
संविधान निर्माणका अगुवा नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक वरिष्ठ राजनीतिज्ञ र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गरेका व्यक्तित्व भएकाले उनले विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि देखाएको विशिष्ट क्षमताको स्मरण गरिएको छ ।
‘अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न नेम्वाङले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभाएको थियो’,वक्तव्यमा भनिएको छ,‘नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा अविचलित रूपमा उभिनुभएका नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार, पार्टीका र देशलाई क्षति पुगेका छ । उहाँले राष्ट्र र जनताको हितमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं ।’