काठमाडौं— चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आगामी चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।
आइतबार र सोमबार बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।
अध्यक्ष केसीका अनुसार अभियानअन्तर्गत सभा, कोणसभाहरू गरिने छ । नेपालसहित विश्वभर देखिएको आर्थिक संकटको परिप्रेक्षमा संघीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताए ।
परिषद्को बैठकले अध्यक्ष केसीले प्रस्तुत गरेको तात्कालिक राजनैतिक प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा गणतन्त्र र राष्ट्रियतामाथि देखिएको खतराका विरुद्ध संघर्ष गर्ने क्रममा प्रतिगमनविरुद्ध आउने सबै शक्तिहरूसँग सहकार्य गर्ने कुरामा जोड दिइएको छ ।













