
काठमाडौं— नेपाल शिक्षक महासंघले प्रस्तावित शिक्षा ऐन (शिक्षा विधेयक) को विरोधमा काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ । बुधबार महासंघले एक विज्ञप्ति जारी गरी सो विधेयकको विरोधमा देशभरका सबै विद्यालय ठप्प पारी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।
शिक्षा विधेयक सरकारले संसदमा दर्ता गरिसकेको छ । विधेयकमा शिक्षक कर्मचारीलाई अन्यायको व्यवस्था गर्दै राज्यले फेरि एकपटक धोका दिएको जनाउँदै सरकारको यो कदमले शिक्षक कर्मचारीलाई आक्रोशित बनाएको महासंघले जनाएको छ ।
‘विधेयकको प्रस्तावित मस्यौदामा सुझाव समावेश गर्ने प्रयोजनका लागि माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्री, मुख्यसचिव, शिक्षासचिव, कानुनसचिव र अर्थसचिव लगायत रहेको कार्यदल र नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलबीच छलफल समेत भएको छ । यस्तो छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिनामसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा सरकारले संसदमा दर्ता गरेको छ । यस घटनापश्चात सरकारले फेरि एकपटक शिक्षक कर्मचारीलाई धोका दिएको छ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।
महासंघले अब काठमाडौं केन्द्रित सडक आन्दोलनमा जानुबाहेक अर्को कुनै विकल्प बाँकी नरहेको बताएको छ ।
बिहीबार बस्ने महासंघको आन्दोलन परिचालन समितिको बैठकले सबै सरोकारवाल समूहबीचको छलफलबाट आन्दोलनको कार्यक्रम तालिका सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
महासंघले आन्दोलनका लागि तयारी अवस्थामा रहन आफू मातहतका सबै संघसंस्थालाई आग्रह गरेको छ ।













