
धादिङ— जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले विद्यार्थीलाई ट्राफिक शिक्षा दिन सुरु गरेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।
ट्राफिक नियमको अभावमा साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए । विशेष गरी विद्यार्थीलाई दैनिक जीवनमा काम लाग्ने कुराहरु सिकाइएको उनी बताउँछन् ।
‘राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिइएको हो ।’













