
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचन परिचालनका लागि केन्द्रीय पदाधिकारी खटाएको छ ।
मिसन ग्रासरुट अभियानको अनुगमनकर्ता उपाध्यक्ष र फिल्ड कमान्ड गरिरहेका सचिवले उपचुनावको प्रत्यक्ष नेतृत्व गर्ने भएका छन् ।
मिसन ग्रासरुटमा खटिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू जो उपनिर्वाचन भएका जिल्ला र क्षेत्रमा खटिएका छन् उनीहरू पनि चुनावी अभियानमा जोडिने एमालेले जनाएको छ ।
जसअन्तर्गत मिसन ग्रासरुटमा जसले जुन प्रदेशको कमान्ड गरेका छन्, तीनै नेता उपचुनावको फिल्ड कमान्डरको भूमिकामा रहने एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
उपनिर्वाचन हुने तिन वटै क्षेत्रमा गएर एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभा गर्ने एमालेको तयारी छ । जसअन्तर्गत बारा २ मा हुने उपनिर्वाचनको कमान्डर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलाई तोकिएको छ । पोखरेल मधेस प्रदेशको मिसन ग्रासरुटको अनुगमनकर्ता हुन् भने महासेठ फिल्ड कमान्डर हुन् । बारा २ मा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल उम्मेदवार छन् ।
यसैगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव गोकर्ण विष्टलाई चितवन २ को कमान्डर तोकिएको छ । बागमती प्रदेशको मिसन ग्रासरुटका अनुगमनकर्ता पाण्डे र विष्टलाई चितवन २ को चुनावी कमान्डर तोकिएको हो । सो क्षेत्रमा यसअघि नै पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा खटिइसकेका छन् । एमालेका तर्फबाट चितवन २ मा जिल्ला अध्यक्ष समेत रहेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै उपनिर्वाचन हुने तनहुँ १ मा उपाध्यक्ष युवराज ज्ञवाली र सचिव पद्मा अर्याललाई कमान्डर तोकिएको छ । दुवै नेता गण्डकी प्रदेशको मिसन ग्रासरुटको अनुगमनकर्ता र फिल्ड कमान्डर छन् । तनहुँ १ मा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सोही जिल्लाका नेता किरण गुरुङ खटिएका छन् ।













