काठमाडौं— हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदासमेत दिएको छ । नेम्वाङको मंगलबार बिहान निधन भएको हो । हिन्दु र लिम्बू दुवै परम्पराअनुसार नै नेम्वाङको अन्त्येष्टि गरिने नेकपा एमालेले जनाएको छ । हिन्दु परम्परा अनुसार नेम्वाङको अन्त्येष्टि पशुपति आर्यघाटमा हुनेछ ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थित पार्टी कार्यालयबाट बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको थियो। श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर मङ्गलबारदेखि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो।
विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान काठमाडौं आइपुगेका थिए भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए ।
सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए। मिङ्सो भने सपरिवार बेलायतमै बस्दै आएका छन् । नेकपा एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरिसकेको छ भने सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ। नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए ।