News Griha :: न्यूजगृह
स्वास्थ्य मन्त्रालयले गर्‍यो उपत्यकाका ७ अस्पतालको अनुगमन, सबैमा लथालिङ्ग 

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ७ वटा अस्पतालमा अनुगमन गरेको छ ।सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले बुधबार अनुगमन गरेको हो ।

अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधी उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधी मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधी तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।

उपत्यकामा रहेका वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभावको साथै सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपीबद्ध नगरेको, खरिद योजना नगरेको, औषधी भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो । 

गंगालाल अस्पतालमा तथ्यांक राम्रो नभएको, चालु आर्थिक वर्षको योजना नभएको,कति औषधी तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने एकिन नभएको पाइएको थियो ।

यस्तै टेकु अस्पतालमा भने निर्देशकको अनुपस्थिति रहेको थियो । फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धी अस्पताल भए पनि आकस्मिक रुपमा महामारी फैंलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।

अस्पतालका कर्मचारीहरूले निर्देशकले अस्पतालको सुधारमा चासो नदिने, समय नदिनेलगायतका गुनासो गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:५०
Weather Update