
काठमाडौं— निर्वाचन आयोगले उप-निर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी बुधबार अन्तिम नामावली प्रकाशन गर्दैछ ।
आयोगले उम्मेदवारका विरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीन वटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछाने विरुद्ध ४ वटा उजुरी परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनी विरुद्ध परेको उजुरी माथि चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउने तयारी गरेको छ ।













