News Griha :: न्यूजगृह
नेम्वाङको अन्त्येष्टि हिन्दु र लिम्बू दुबै परम्पराअनुसार हुने
ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा बुधबार संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरिरमा श्रद्धाञ्जली अर्पण गर्दै जेठो छोरा मेङ्सो नेम्वाङ । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौं— हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि हिन्दु र लिम्बू दुबै परम्पराअनुसार हुने भएकोे छ ।  नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट बालुवाटारस्थित घरमा लगिएको छ। निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।

नेम्वाङको बिहीबार बिहान ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। राजकीय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ।

मंगलबार बिहान निधन भएका एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए। 

सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ। एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ भने सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ।

नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:१३
Weather Update