News Griha :: न्यूजगृह
टेलिकमको नेटवर्कमा समस्या 

गोरखा— नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा समस्या आएको हो ।

गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण हैरानी खेप्दै आएका छन् ।

जिल्लाको उत्तरपश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोबाइल सेवा तथा इन्टरनेट दुरुस्त नचल्ने गरेको बारपाक सुलिकोट गाउँपालिकाका जीतबहादुर नेपालीले जानकारी दिए ।

‘भच्चेकमा राखिएको नेपाल टेलिकमको टावरबाट बारपाक सुलिकोट गाउँपालिका विभिन्न क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगेको छ, उनले भने, ‘अहिले टावरमा आएको समस्याले राम्रोसँग इन्टरनेटले काम गरेको छैन ।’

नेटवर्कमा आएको खराबीका कारण मोबाइल कल गर्दासमेत कुरा नबुझिने, फोन गर्दागर्दै काटिने समस्या भएको जीतबहादुरको भनाइ थियो । टेलिकमको टावरमा आएको समस्याले हैरानी खेप्नु परेको अधिकांस उपभोक्ताको गुनासो छ ।

कुराकानी गर्दा मोबाइल फोनमा आवाज नसुनिने समस्यासमेत रहेको अजिरकोट गाउँपालिका–३, भच्चेकका  हरिप्रसाद देवकोटाले बताए ।

‘मोबाइल छ तर कुरा गर्न परेको बेला काम परेको बेला कुराकानी गर्न नै गाह्रो हुन्छ, उनले भने, ‘फोन गर्दा फोन नै लाग्न गाह्रो र फोन लागे पनि कुरा बुझ्न समस्या हुने गरेको छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:०२
Weather Update